सरकार तिमी दशैँ मनाऊ, म त हिँडेँ परदेश

महन्थ कुमार कापर/सिराहा ।

उमेरले अहिले २६ वर्ष लागेँ । तर परदेश बस्न थालेको करिब ७ वर्ष हुन लाग्यो । बाध्यताले गर्दा १९ वर्षको उमेर मै मलेसिया जानु पर्‍यो । त्यहाँ ६ वर्ष काम गरेर फर्किएको ८ महिना मात्रै हुँदै छ । तर म यो देशमा टिक्न सकिंन । त्यसैले फेरि जाँदै छु खाडीको देश यूएई ।

बुवा आमा सोझा छन् । सम्पत्ति पनि छैन । घरको चुलो परदेश नगई बल्दैन । अझ हामी तराईको मान्छेलाई त बहिनीको बिहे गर्नु पर्ने अर्को ठुलो जिम्मेवारी हुन्छ । मेरो काँधमा पनि दुई बहिनीको बिहेको जिम्मेवारी छ । त्यसैले पनि परदेश जानु परेको छ ।

यो केही समय देशमा बिताउँदा थुप्रै कुराको अनुभव भयो । मलेसियामा ३५ हजार कमाउन जति दुःख गर्न पर्छ नि यहाँ त १० हजार कमाउन पनि त्यसको दोब्बर दुःख गर्न पर्ने रहेछ ।

Advertisement

जति गर्न खोज्दा पनि घरको चुलो बल्नै गाह्रो भएपछि हामीलाई परदेश लाग्नै पर्छ । तर अहिले यो चाडबाडको बेलामा परदेश हिँड्न पर्दा मन भारी भएको छ ।

परिवारसँगै दशैँ नमनाएको पनि धेरै वर्ष भइसक्यो । यो पालि चाहिँ सँगै मनाउन पाइन्छ कि भन्ने लागेको थियो । तर यसपालि पनि यस्तै हुने भयो ।

हाम्रो पनि गाउँघरमा दशैँ धूमधामसँग मनाइन्छ । मेला लाग्छ । दुर्गा पूजा गरिन्छ । तर हामी गरिब दुःखीलाई कहाँ यस्तो भाग्य मिल्ने रहेछ र । भाग्यमै थिएन सायद भनेर चित्त बुझाएको छु ।

दुःख त घरमा पनि लाग्यो होला । तर बाध्यताको अघिल्तिर भावना कमजोर बन्ने रहेछ । आमाको मन कति दुखेको होला । चाडबाडको बेलामा छोरो परदेश हिँड्यो भन्ने त उहाँलाई पनि लागेको होला । तर भन्न सक्नुहुन्न । तर यो रहर होइन बाध्यता हो ।

हाम्रो तराईमा त सबैको अवस्था नै खराब छ । विदेश नगई त घरको चुलो बल्न पनि गाह्रो छ ।

कम्तीमा पनि सरकारले हामीजस्तो मजदुरी गर्नेलाई महिनाको २० हजार रुपैयाँ मात्र कमाइ हुने वातावरण मात्र बनाइदिए पनि सायद यसरी परदेश हिँड्न पर्दैन थियो कि ।

महिनामा २० हजार रुपैयाँ मात्र कमाइ भयो भने त हामी पनि खुसी खुसी आफ्नै देशमा बस्न पाउने थियौँ नि । सरकारले यति वातावरण बनाइदिए त यस्तो भारी मन लिएर विदेश हिँड्न पर्दैन थियो ।

तर म सरकारलाई भन्न चाहन्छु तपाईँहरू हामीले पठाएको रेमिट्यान्सले खुसीयाली मनाइरहनुभएको छ । रमाइरहनुभएको छ । तर युवाहरूलाई यस्तो बाध्यता बनाइदिनुभएको छ त्यो उचित छैन ।

तपाईँहरू ठुलो ठुलो महलमा टीका जमरा लगाएर विजया दशमी मनाउनुहोस् । म त परदेश हिँडेँ । अब अर्को महिना रेमिट्यान्स पठाउँछु ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement