हिन्दुहरुको महान पर्व बडादशैँ शुरू, आज घटस्थापना

यस वर्षको बडादशैँ आजदेखि शुरू भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुनेछ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिने गरिन्छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्ति स्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

Advertisement

आज घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको थियो । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ ।

दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ ।

यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको हो । नवरात्र भर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिहरूको पाठ पारायण पनि गर्ने गरिन्छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement