सिरहा कारागारमा कैदीहरूले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषध समेत कारोबार गर्ने गरेको सम्बन्धमा अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ। प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा छानबिन समिति गठन भएको हो।
प्रहरी नायब उपरीक्षक सोतीको नेतृत्वमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहनेगरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिएका छन । उनका अनुसार समितिले आजैदेखि काम सुरू गर्नेछन।
छानबिन समितिलाई १५ दिनभित्र जिल्ला सुरक्षा समितिलाई प्रतिवेदन बुझाउने समय दिइएको छ भने छानबिन समितिले बुझाउने अनुसन्धान प्रतिवेदनका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढ्ने प्रजिअ दाहालले बताएका हुन।
केही दिनअघि कारागारभित्रै मूल नाइके र अन्य कैदीहरूले मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घटनाहरु सञ्चारमाध्यम द्धारा सार्वजनिक भएको थियो।
यस्तै, कारागारमा लागूऔषध उपलब्ध हुनेगरेको तथ्य पनि खुलेको थियो। यसअघि शनिबार कारागारमा सिरहाका प्रजिअ दाहालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनालगायतको उपस्थितिमा अनुगमन समेत गरिएको हो ।
यस प्रकरणमा कारागार व्यवस्थापन विभागले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय सिरहालाई घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न र कारागार कार्यालय सिरहालाई घटनाबारे प्रतिवेदन पठाउन लिखित रूपमा नै निर्देशन समेत दिएको थियो।