सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा फरार रहँदै आएका जलेश्वर स्थित रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पसका अध्यक्ष देवेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
फरार सूचीमा रहेका अध्यक्ष चौधरीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता सन्तुलाल प्रसाद जैसवारले जानकारी दिएका हुन । उनका अनुसार सोमबार आकस्मिक बिदा परेका कारण मङ्गलबार अदालतमा पेश गरेर म्याद थप गरिएको छ ।सोमबार क्याम्पसमा बैठक चलिरहेको बेला सादा पोशाकमा गएका प्रहरीले चौधरीलाई पक्राउ गरिएको क्याम्पस प्रमुख अजय कुमार झाले जानकारी दिएका छन ।
पक्राउ परेका अध्यक्ष चौधरीको हकमा असई थमन विक हत्या र विभिन्न प्रहरी चौकीहरुमा आगजनीको मुद्दा मुल्तवीमा राखिएको छ । जिल्ला अदालत महोत्तरीले २०८० मङ्सिर २८ गते फैसला गर्दै तराई मधेश आन्दोलनको क्रममा हत्या गरिएको सशस्त्र प्रहरीका असई विकको हत्या घटनामा दुई जनालाई सफाइ र सात जनालाई जन्मकैदको सजाय सुनाइएको थियो ।
तत्कालीन महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धव प्रसाद भट्टराईको इजलासले महोत्तरी क्षेत्र नं १ बाट निर्वाचित भएका एमालेका सांसद लक्ष्मी महतो कोइरी र थमन विकको हत्या आरोपमा पक्राउ परी पाँच वर्षदेखि कारागारमा रहेका पवन कापरलाई सफाइ दिएका थिए । साथै लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सहित सातजनालाई जन्मकैदको सजाय सुनाइएको थियो ।
विक हत्याको आरोपमा धरौटीमा रिहा भएका मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्व नगर प्रमुख रामशङ्कर मिश्र, लोसपाका महा सचिव सुरेश पाण्डेय तथा धर्मेन्द्र रायलाई जन्मकैदको फैसला भएको थियो भने हत्याको आरोपमा कारागारमा रहेका प्रदीप साह र सञ्जय कुमार साहलाई जन्मकैदको फैसला भएको थियो ।