लामो समयदेखि सम्पर्कविहीन ३१० सहकारीको खोजी गर्दै मधेश सरकार

मधेश प्रदेश सरकारले लामो समयदेखि सम्पर्कविहीन तीन सय १० सहकारी संस्थाबारे खोजबिन थालेको छ । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत असोजमा प्रदेश सहकारी ऐन, २०७९ र २५ फागुनमा सहकारी नियमावली, २०८० जारी भएपछि खोजबिन गर्दा तीन सय १० वटा सहकारी गायब भएको फेला परेको जनाएको छ । सम्पर्कविहीन हुनेमा सिराहाका एक सय २१, सप्तरीका ९४, धनुषाका ५६ र महोत्तरीका ३९ सहकारी छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत मंगलबार सूचना जारी गर्दै सम्पर्कविहीन सहकारीलाई ३५ दिनभित्र सम्पर्कमा आउन भनेको छ । ती सहकारी संस्था सम्पर्कमा नरहेको, विवरण नबुझाएको, कोपोमिस प्रणालीमा आबद्ध नभएको र कोपोमिसमा आबद्ध भएकाले पनि प्रतिवेदन पेस नगरेको तथा पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहकारी रजिस्ट्रार राममणि अधिकारीले जानकारी दिए ।
सहकारी ऐन, २०७९ र सहकारी नियमावली, २०८० लागू भएपछि मधेश सरकारलाई आठ सय २२ वटा सहकारी संस्था हस्तान्तरण गरिएको थियो । ती सहकारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको सहकारी महाशाखामा आफ्ना मासिक प्रतिवेदन बुझाउनुपर्ने प्रावधान तोकिएको थियो । तर, प्रदेश सरकारले सहकारीसम्बन्धी कानुन बनाउन ढिलाइ गरेपछि त्यसको फाइदा उठाउँदै सहकारीहरू आफूखुसी सञ्चालन हुँदै आएका थिए ।प्रदेश सरकारले सहकारी ऐन र सहकारी नियमावली बनाई अनुगमन थालेपछि तीन सय १० वटा सहकारी संस्था लामो समयदेखि सम्पर्कविहीन रहेको फेला परेको रजिस्ट्रार अधिकारीले बताए । प्रदेशमा हस्तान्तरण भई आएका आठ सय २२ सहकारीमध्ये दुई सय १५ सहकारीले नियमित रूपमा मासिक प्रतिवेदन बुझाउने गरेका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement