मिथिला माध्यमिकी परिक्रमा सम्पन्न,आज जनकपुरधाममा होली

मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको छ । परिक्रमाका यात्री सोमबार जनकपुरधामको अन्तगृह परिक्रमा गरेपछि विधिवत् रुपमा परिक्रमा सम्पन्न भएको छ । अन्तगृह परिक्रमामा करिब एक लाखभन्दा बढी श्रद्धालुको सहभागिता रहेको अनुमान गरिएको छ । माध्यमिकी परिक्रमा भाग लिन नसकेको श्रद्धालुहरु अन्तगृह परिक्रमामा सहभागी भए मोक्षको भागी बन्ने जनविश्वास छ । नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा नेपाल र भारतका साधुसन्त, महन्थ र श्रद्धालु सहभागी भएका थिए । हिन्दू धर्मको प्रसिद्ध ग्रन्थ ‘मिथिला महात्म्य’ का अनुसार यो परिक्रमा १८ औं शताब्दीदेखि सुरु भएको उल्लेख गरिएको छ । जनकपुरधामस्थित मिथिलाविहारीका महन्थ रामनरेश दासका अनुसार प्राचीन मिथिलाका राजा जनकको दरबार र आसपास क्षेत्रको परिक्रमा गर्दा पुण्यप्राप्ति हुने विश्वास छ । मर्नुअघि कम्तीमा एकपटक परिक्रमामा सहभागी हुँदा मरणोपरान्त मोक्ष प्राप्त हुने जनविश्वास रहेकाले परिक्रमामा वृद्धवृद्धाको बढी सहभागिता हुने गरेको उनले जानकारी दिए ।
खासगरी रामायणमा वर्णन गरिएबमोजिम राम र सीताले घुमेको प्रसिद्ध धार्मिकस्थलहरुको दर्शन गर्न यो परिक्रमाको थालनी भएको साधुसन्तहरुको भनाइ छ । हरेक वर्ष फागुन शुल्क औंसीको दिन सुरु हुने यो परिक्रमा पूर्णिमाको दिन जनकपुरधामको अन्तरगृह घुमेर सकिन्छ । जनकपुरधामको पिडारी चोक, मिल्स एरिया, भानुचोक, कदम चोक, विषहरा चोक, मुरली, भ्रमपुरा, ज्ञानकुप हुँदै पुनः पिडारी चोकसम्म आइपुग्दा पाँच कोश पुग्छ । जनकपुरधामको अन्तर गृह परिक्रमा गरेको भोलिपल्ट मात्रै जनकपुरधाम लगायत वरपरका क्षेत्रमा होली खेल्ने चलन छ । जनकपुरधाममा यसवर्ष मङ्लबार होली मनाइएको छ भने तराईका अन्य भूभागमा सोमाबार होली मनाइएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement