भ्रष्टाचारको पोखरीका ठूला माछा : एउटा हातमा जाल, अर्को हातमा गहुँत !

भ्रष्टाचारको ताल र पोखरीमा माछा त साना र ठूला सराबरी नै छन्, तर जतिपल्ट जाल हाने पनि ठूला माछा उम्केको उम्कै, जालमा पर्ने र अल्झने साना माछा मात्रै । जाल हान्नेको आँखा पनि सानो माछातिर मात्रै सोझिने, ठूलो माछो देख्यो कि तर्सने !

ठूला माछाको जगजगी भएको ताल र पोखरीमा जतिपटक जाल हान्दा पनि साना माछा मात्रै परिरहेपछि मान्छेहरूले स्वाद मान्न छाडे । जालमा ठूला माछा पनि पार्नुपर्ने दबाब बढ्यो । बेला बेला जालमा ठूला माछा नपारे जाल हान्ने ठाउँबाट हटाएर आफैँलाई अर्कोले जालमा पर्ने त्रास भो । त्यसैले अहिले आफ्नै हातमा जाल भएको बेला अर्कोलाई समातिहाल्नुपर्छ भनेर उनी पोखरी खोज्न निस्के । तर जाल हान्यो कि आफैँले खनेको पोखरीमा पालेका माछा समातिन्छन् ! जाल हान्ने ठाउँमा आफूलाई पुर्‍याउनेहरू पनि जालमा पर्न थालेपछि अब तिनीहरूलाई चोख्याउन गहुँत र सुनपानी चाहियो । त्यसपछि नयाँ खेला शुरु भयो एकातिर जाल र ढोक्सा, अर्कोतिर गहुँत र सुनपानी ।

त्यसपछि शुरु भयो ठूला माछा समात्ने र चोख्याउने खेल । सबैभन्दा पहिला ललिता निवासको पोखरीमा जाल तेर्सियो । मान्छेहरू वाहवाह भन्दै हेर्न थाले । माछैमाछा भएको पोखरीमा झ्याम्म जाल हान्दा हेर्नेहरूले परर ताली पड्काए । हेर्दाहेर्द पूर्वसचिवसहित ठूल्ठूला व्यापारी, व्यवसायी पनि जालमा परे । एउटै जालमा साना, मझौला, ठूला सबै खालका माछा परेको देखेपछि हेर्नेहरूका आँखा तेजिला भए । जाल हान्नेहरूका नाक ठूला भए । तर अर्कोपटक यही पोखरीमा जाल हान्दा दुई जना पूर्वप्रधानमन्त्री पनि पर्ने डर भयो । आफ्नै सहयात्री, अहिले आफूले समातेपछि उसले पनि छोड्दैन । अर्को पोखरीमा त आफ्नो पनि नाम छ । आफू नभएको पोखरीमा अहिले जाल हान्दा उसलाई समातेपछि भोलि उसले यसैगरी जाल हान्दा आफू परिन्छ । त्यसपछि जाल हान्नेले हतारहतार सुनपानी र गहुँत छर्किए । हेर्दाहेर्दै ललिता निवासको हल्लाखल्ला सामसुम भयो ।

Advertisement

मान्छेहरूलाई फेरि रमाइलो चाहियो । अनि ठूला माछा समातेको चटक देखाउनेहरूले नक्कली भुटानी शरणार्थीको अर्को ठूलो पोखरीमा जाल सोझ्याए । यहाँका माछा झनै ठूल्ठूला र खाइलाग्दा । कोही पूर्वमन्त्री, कोही बहालवाला सचिव । विज्ञदेखि बिचौलियासम्म । समातिनेमध्ये केहीका अनुहार आफैँसँग मिल्यो, केहीको आफूलाई टेका दिने सहयात्रीसँग । अर्कोपटक जाल हान्दा आफैँ पनि फस्ने डर भएपछि त्यहाँ पनि जालमा पर्न बाँकी भएकाहरूलाई हतारहतार सुनपानी छर्कने काम भयो । हिरासतमा पुगेकामध्ये केही ठूलालाई धरौटी नामको गहुँत छर्कियो । हिरासतबाट छुटेका ठूला माछा अहिले ज्यानमा छर्केको त्यही गहुँत देखाउँदै निष्फिक्री हिँडिरहेका छन् ।

त्यहीबेला विमानस्थलमा सुनका माछा सलबलाए । कर्मचारीदेखि सुरक्षाकर्मीसम्म, भरियादेखि व्यापारीसम्म जसको अनुहार हेर्दा पनि पहेँलपुर । केही सुन माछालाई समातेर हेर्दा उनीहरूको गुण आफ्नै दाहिने हातसँग पनि मिल्ने । दाहिने हातका छोरै समातिए । सुनको पोखरीमा जाल हान्दा आफ्नै दाहिने हात पर्ने पक्का भएपछि त्यहाँ पनि त्यही सुनमा पानी मिसाएर थामथुम पारियो ।

एउटा पोखरीमा जाल हान्ने, एकछिन खैलाबैला गर्ने, फेरि उतिखेरै थामथुम र सामसुम पारेर अर्को पोखरी ताक्ने सिलसिला बाँसबारी छाला जुत्ता कारखानासम्म पुग्यो । यहाँ पनि ठूलै माछा समातियो भनेर हेर्नेहरूले स्वाद माने । हेर्नेहरूको स्वादले मात्रै आफ्नो कुर्सी टिक्ने भए त जालमा परेका ठूला माछा हेर्दै मजाले बस्नुहुन्थ्यो नि । तर के गर्नु, कुर्सीमा टेको दिनेहरूको गाली र दबाबले बसिखान सकिँदैन । टेको दिनेहरूको कुरो नसुन्दा कुर्सीको खुट्टा भाँचिन्छ । खुट्टा भाँचिएपछि कुर्सी ढल्छ । कुर्सी ढल्यो भने के गरेर बस्नु, सधैँभरी कुर्सीमा बसेर कुम हल्लाउने बानी परिसक्यो । फेरि अर्को मान्छे कुर्सीमा बसिहाल्यो भने आफ्नो नाम गरेको पोखरीमा कसैले जाल हान्ने र आफू परिने डर । त्यसपछि यहाँ पनि जग्गा फिर्ता गरेर सुनपानी र गहुँत छर्कने प्रक्रिया शुरु भयो ।

एकातिर कुर्सीमा टिकिरहनु छ, अर्कोतिर वाहवाही कमाउनु छ । वाहवाही कमाउन अरू गर्न सकिएन । आफू र आफ्ना मान्छे नमिसिएको प्रकरण खोतल्दा मात्रै पनि मान्छे रमाउँदा रहेछन् । त्यसैले अहिले बेलाबेला थरीथरीका प्रकरण प्रकट हुन्छन् । छानबिनका लागि एकपछि अर्को समिति बन्छन् । फाइल खुलेपछि हल्लाखल्ला हुन्छ । ठूल्ठूलाको नाम जोडिने बित्तिकै फेरि सबै चुपचाप हुन्छन् । अनुसन्धान मोडिन्छ । एउटा प्रकरण तात्छ, त्यो सेलाउन नपाउँदै अर्को तातिन्छ । नयाँले पुरानालाई ओझेलमा पार्छ । २०४६ सालपछिका केहीबाहेक अहिले भएका सबै ठूलाबडाहरूका ‘ठूला माछा’ भनिने नाम कुनै न कुनै पोखरीमा मिसिएकै छ क्यारे । त्यसैले ठूला माछा समातेजस्तो गर्दै सुनपानी छर्केर उम्काउने सिलसिला हिन्दी टेलिसिरियल झैँ लम्बिरहनेछ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement