दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ गरिँदै

मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन यो विधिको परम्परा रहेको हो । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि आयोजन गरिने पुरानो मैथिल परम्परा छ ।

मिथिला क्षेत्रमा दशहारा ९बडादसैँ० पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन खोल्न उघार्न बेल फलको भेट्नो प्रयोग गरिने परम्परा रहेको छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ । आज षष्ठीका दिन यही विधि उल्लासमय वातावरणमा सम्पन्न गर्न हिन्दू मैथिलले तयारी गरेका छन् ।

षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ । देवी प्रतिमाको आँखा उघार्न शास्त्रले पवित्र मानेको बेल फलको भेट्नो प्रयोग गर्ने परम्पराअनुसार सो प्रयोजनका लागि बेलको फललाई निम्ता गर्ने भाव यो विधिमा रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बताउँछन् । मिथिलामा आँखा उघारिएपछि प्रतिमा पूर्ण सजीव भएको मानिने बर्दिबास–२ का बासिन्दा मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता दिनेश झा बताउछन् ।

Advertisement

सप्तमीका दिन एक दिनअघि निम्ता गरिएको बेलको फल भेट्नोसहित टिपेर ल्याई पुरोहित ब्राह्मणले भेट्नोले खोस्रेर प्रतिमाको आँखा उघारिदिएपछि मात्र देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ । सप्तमीका दिन बिहान एक दिनअघि निम्ता गरिएको बेल टिप्न पनि बाजागाजासाथ पुग्ने चलन छ । बेल टिप्ने यो विधिलाई ‘बेलतोडी’ भनिन्छ ।

दशहरा पर्वका अवसरमा मिथिला क्षेत्रका बस्ती–बस्तीमा जसो देवी प्रतिमा बनाइएका छन् । ‘बेलनौत’ विधि सम्पन्न गरिने तयारीमा मिथिलाका बासिन्दा जुटेसँगै पर्वको चहलपहल निकै बढेको छ ।

पर्वविशेषमा माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमाका लागि आँखा उघार्न आवश्यक नभएकाले त्यस्ता प्रतिमास्थलमा ‘बेलनौत’ विधि आवश्यक नरहेको मिथिला संस्कृति परम्पराका ज्ञाता बताउँछन् ।

यद्यपि यस्ता मन्दिरमा पनि निम्ता गरिएको बेल फल टिपेर ल्याई देवी प्रतिमा नजिक राख्ने चलन छ । पर्व विशेषमा बनाइएका देवी प्रतिमा विजयादशमीका दिन धार्मिक महत्वका नदी वा गहिरो तलाउमा विसर्जन गरिने परम्परा छ । यसलाई मिथिलामा मूर्ति भसाउने भनिन्छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement