बागमती नगरपालिका ११ कर्मैयास्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुखविहीन भएपछि यहाँका उपभोक्ता मारमा परेका छन् । सर्लाही र रौतहट कार्यक्षेत्र रहेको उक्त कार्यालयका प्रमुख जयप्रकाश साह अनिवार्य अवकाशमा गएपछि कार्यालयले नयाँ कार्यालय प्रमुख नपाउँदा उपभोक्ता मारमा परेका हुन् ।
उक्त कार्यालयले दुई जिल्लाका उत्तरी चुरे क्षेत्र तथा सिँचाइ सुविधा नपुगेका स्थानका किसानका लागि सिँचाइ विकासको योजना सञ्चालन गर्दै आएको थियो । तर, कार्यालय प्रमुख नहुँदा आफूहरू मारमा परेको हरिवन नगरपालिका–७ स्थित मनोकामना जल उपभोक्ता समितिका अध्यक्ष अशोक साहले गुनासो गरेका हुन ।
साहका अनुसार अघिल्लो आर्थिक वर्षमा नै सिँचाइ गर्न डिपबोरिङको काम गरेका थियौँ”, उनले भने, “योजना सम्पन्न भइसक्यो तर किसानले पैसा उठाएर राखेको धरौटी छ महिना बितिसक्दा पनि फिर्ता नभएको कारण गाउँका उपभोक्ता मारमा परेका छन् ।” रौतहटको यमुनामाई नगरपालिका स्थित सरुअठा जल उपभोक्ता समूहका अध्यक्ष आशुतोष यादवको पनि समस्या उस्तै रहेको छ । “गत आर्थिक वर्षमा काम गर्न समूहले जम्मा गरेको पैसा अझै फिर्ता भएको छैन”, उनले भने, “चालू आवमा पनि सिँचाइको काम गर्न पाए खेतीबाली गर्न पाइने आश रहेको छ तर, कार्यालय प्रमुख नहुँदा यहाँ न पुरानो योजनाका काम हुन्छन्, न नयाँ नै हन्छ भनि गुनासो ब्यक्त गरेका हुन ।
उक्त कार्यालयले किसानलाई भूमिगत पानीलाई डिपबोरिङ, पावर ड्रिल र स्यालो ट्युबवेलबाट पानी निकालेर सिँचाइ सुविधा प्रदान गर्दै आएको छ । हालसम्म भूमिगत सिँचाइ योजनाबाट सर्लाही र रौतहटमा गरी तीन हजार पाँच सय बिघा खेतमा सिँचाइ सुविधा पुगिसकेको कार्यालयले जनाएको हो । कार्यालयले प्रत्येक वर्ष नयाँ जडान, वितरण प्रणाली विस्तार तथा मर्मतसम्भारका लागि योजना ल्याउने गरेको छ । यस वर्ष पनि एक सय ४६ वटा योजना तोकिएर आएको कार्यालयका निमित्त प्रमुख तिर्हराज खरेलले बताएका हुन । गत वर्ष रु २६ करोड ८० लाख बराबरको एक सय ६३ वटा डिपबोरिङ, पावर ड्रिल र स्यालो ट्युबवेल जडान, वितरण प्रणाली विकास तथा मर्मत सम्भारको योजना सम्पन्न गरेका थिए ।