साउदी अरबले वर्षमा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड दिइएको तथ्यांक सार्वजनिक भएको छ। मानवअधिकार संगठनलाई उद्धृत गर्दै एएफपीले यस्तो बताएको हो।
शनिबार मात्रै एक यमनी नागरिकलाई लागू औषध तस्करीको आरोपमा दक्षिण–पश्चिमी क्षेत्र नजरानमा मृत्युदण्ड दिइएको थियो। योसँगै यस वर्ष साउदीमा मृत्युदण्डको सजाय पाउने विदेशी नागरिकको कुल संख्या १०१ पुगेको छ।
यो संख्या विगत तीन वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो। सन् २०२३ र २०२२ मा ३४ विदेशीलाई मृत्युदण्ड दिइएको थियो। युरोपेली साउदी अर्गनाइ जेसन फर ह्युमन राइट्स इएस ओएच आर का कानूनी निर्देशक ताहा अल–हज्जीले साउदी अरेबियाले एक वर्षमा यति धेरै विदेशीहरूलाई मृत्युदण्ड दिएको यो पहिलो पटक भएको बताएका छन।
सन् २०२४ मा साउदी अरबमा मृत्युदण्डको सजाय पाउने विदेशी नागरिकमा पाकिस्तान, यमन, सिरिया, नाइजेरिया, इजिप्ट, जोर्डन र इथियोपियाका नागरिक छन्। आफ्नो कठोर कानूनलाई लिएर साउदी अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्दै आएको छ।
यस वर्ष मृत्युदण्ड दिइएका विदेशीमध्ये पाकिस्तानका २१, यमनका २०, सिरियाका १४, नाइजेरियाका १०, इजिप्टका नौ, जोर्डनका आठ र इथियोपियाका सात जना रहेका हुन् भने सुडान, भारत र अफगानिस्तानबाट तीन–तीन र श्रीलङ्का, इरिट्रिया र फिलिपिन्स बाट एक–एक जना रहेका छन।