आज बडादशैं तथा नवरात्रको तेस्रो दिन, देशभरका दसैं घर र पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजाआराधना भइरहेको छ।
धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार चन्द्रघण्टा देवीको नाम उनको हातमा रहेको चन्द्रमाको आकारको घण्टाको आधारमा राखिएको हो। देवीको पूजा गर्नुले भक्तजनलाई शक्ति प्राप्त हुने जनविश्वास रहेको छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाका अनुसार देवीको आराधनाले दानवीय शक्ति नाश गर्न सकिन्छ।
मार्कण्डेय पुराणमा चन्द्रमा जसको घण्टामा छ, त्यस देवीलाई चन्द्रघण्टा भनी वर्णन गरिएको छ। चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ, र उनी अत्याचारी दानवहरूको नाश गर्ने देवीका रूपमा परिचित छिन्। देवीको पूजा गर्दा मणिपुर चक्रलाई ध्यान गरिन्छ, जसबाट भक्तजनलाई अद्वितीय शक्ति प्राप्त हुने विश्वास गरिन्छ।
यसअघि बिहीबार नवरात्रको पहिलो दिन घटस्थापना गरी देवी शैलपुत्रीको पूजा गरिएको थियो, दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा सम्पन्न भएको थियो। आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको छ।