हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बुधबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लागेको हो ।
विभागका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने कोसी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने कोसी र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको हो ।
आगामी २४ घण्टामा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध समेत गरेको हो ।